जेठ ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा काठ व्यवसायीको लापरवाहीका कारण सरकारी संरचना—सडकमा क्षति पुगेको छ । नगरपालिकाले पटक–पटक चेतावनी दिइए पनि वेवास्ता गरेपछि अब स्थानीय प्रशासनले कडा कदम चाल्दै कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
नगरपालिकाको केन्द्र सल्लेरी र वडा नम्बर ३ तामाखानी जोड्ने मुख्य सडक खण्डमा काठ व्यवसायीहरूले काठको मुढा खसाल्दा करिब ३५ दशमलव ५० मिटर लम्बाइको सडक भत्किएको छ । बिहिबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पा स्वयं प्राविधिक टोलीसहित निरीक्षणमा निस्कनुभएको थियो ।
निरीक्षणपछि क्षतिको मापन र जिम्मेवारी निर्धारणको प्रक्रिया सुरु गरिएको जानकारी नगरपालिकाले दिएको छ । काठ व्यवसायीहरूले गल्ती स्वीकार गर्दै प्राविधिकको सल्लाह अनुसार सडक मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी संरचना जनताको सम्पत्ति हो भन्ने सन्देशसहित नगरपालिका र प्रशासनले सतर्कता अपनाउन सबै पक्षलाई आग्रह गरेका छन् ।
Discussion about this post