जेठ ९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएका योजनाहरुको सम्झौता यही जेठ १५ गतेभित्र गरिसक्न सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ। गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै हालसम्म सम्झौता हुन बाँकी रहेका योजनाहरुको सम्झौता गर्ने अन्तिम म्याद जेठ १५ गतेसम्म मात्रै रहेको स्पष्ट पारेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेद्वारा हस्ताक्षरित सूचनामा कार्यपालिकाको जेठ ६ गते बसेको बैठकको निर्णय अनुसार योजनाका सम्पूर्ण कार्यहरू जेठ २५ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले सम्झौता प्रक्रिया यथाशीघ्र सम्पन्न गर्नुपर्ने उल्लेख छ। योजनाको प्रभावकारी कार्यान्वयनका लागि समयमै सम्झौता अनिवार्य रहेकोले सम्बन्धित सबै पक्षले समयसीमा भित्र सम्झौता गरिसक्नुपर्नेछ, सूचनामा भनिएको छ।
गाउँपालिकाले हालसम्म सम्झौता नभएका योजनाहरुमा चासो व्यक्त गर्दै तोकिएको म्यादभित्र सम्झौता नभएमा त्यसको जिम्मेवारी सम्बन्धित पक्षकै हुने स्पष्ट पारेको छ।
यससँगै गाउँपालिकाले आगामी कार्यहरू निर्धारित समयसीमा भित्र सक्नुपर्ने भन्दै योजनाको प्रगति अनुगमनलाई पनि तीव्रता दिने बताएको छ।
Discussion about this post