जेठ ११, सोलुखुम्बु । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा हुनुभएकी शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
यही जेठ ६ गतेको नीति निर्माण समिति बैठकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सङ्गठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा प्रदान गर्ने निर्णय गरेको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी उहाँले प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि गरेको कार्यको प्रशंसा गर्नुभयो । प्रहरी सङ्गठनको प्रतिनिधित्व गर्दै प्रनानी शेर्पाले यही जेठ ५ गते सोमबार बिहान ८ः५६ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको थियो ।
उहाँले सगरमाथा शिखरबाट नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा ‘महिला र बालिकाविरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ’ भन्ने नारासहितको ब्यानर फहराउनु भएको थियो ।
Discussion about this post