जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ खरिखोलामा सोमबारदेखि अचार बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा सुरु गरिएको ७ दिने तालिममा २० जना स्थानीय महिलाहरुले सक्रिय सहभागिता जनाएका छन् ।
कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष फुनुरु शेर्पाको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यता उद्घाटन गरिएको आयोजकले जनाएको छ । वडा अध्यक्ष शेर्पाले उद्घाटन कार्यक्रममा बोल्दै स्थानीय स्रोत र सीप प्रयोग गरेर आत्मनिर्भर बन्न सकिने बताउनुभयो । यस्तो तालिमले महिलामा आत्मविश्वास बढाउनुका साथै आम्दानीको नयाँ माध्यम बन्ने उहाँको भनाई छ ।
यस्तै घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाले स्थानीय उत्पादनमा आधारित उद्योगको प्रवद्र्धनका लागि यस्तो तालिम अत्यन्त उपयोगी हुने बताउनुभयो । अचार बनाउने सीप व्यवसायिक रूपमा पनि विस्तार गर्न सकिने सम्भावना बोकेको उहाँको विश्वास छ । तालिमका संयोजक टेक बहादुर बस्नेतका अनुसार तालिममा सहभागी महिलाहरुलाई मुला, आलु, काउली, गाजर, लसुन, अदुवा तथा मासु जस्ता स्थानीय रुपमा पाइने सामग्रीको प्रयोग गरी विविध स्वादका अचार बनाउन सिकाइँदैछ ।
उक्त तालिमबाट महिलाहरुलाई सीपमुलक तालिममार्फत आत्मनिर्भर बनाउने लक्ष्य रहेको आयोजकले जनाएको छ । आगामी दिनमा तालिमबाट उत्पादन हुने अचारलाई स्थानीय तथा बाह्य बजारमा प्रवर्धन गर्ने योजना समेत रहेको वडा कार्यालयले जनाएको छ ।
Discussion about this post