जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङलहामु गाउँपालिकाले पर्यटन शुल्कबाट मात्रै १५ करोड बढी राजस्व सङ्कलन गरेको छ । सगरमाथा रहेको गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटन शुल्क बापत १५ करोड १३ लाख ८० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
गाउँपालिकाले सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकहरूलाई प्रवेश शुल्क लगायत विभिन्न रोयल्टी बापत उठाउने कर र राजस्व अन्तर्गत उक्त रकम सङ्कलन भएको गाउँपालिकाले जनाएको छ । यस अवधीमा सगरमाथा क्षेत्र भ्रमणमा आएका ५३ हजार ३ सय ७० पर्यटकबाट उक्त राजस्व सङ्कलन भएको हो । गाउँपालिका प्रवेश केन्द्रहरू जस्तै लुक्ला हेलिप्याड, लुक्ला राजस्व सङ्कलन केन्द्र, जोरसल्ले राजस्व सङ्कलन केन्द्रबाट गाउँपालिकाले आन्तरिक राजस्व संकलन गर्ने गरेको छ ।
गएको साउन देखी हाल सम्म गाउँपालिकामा ४५ हजार १ सय १३ जना विदेशी र ८ हजार २ सय ५७ जना सार्क राष्ट्रका नागरिक खुम्बु क्षेत्र प्रवेश गरेको गाउँपालिकासँग भएको तथ्याङ्कमा उल्लेख छ । विश्वकै पहिलो पर्यटकीय गन्तव्य मानिने सगरमाथा क्षेत्र घुम्नका लागी विश्वका विभिन्न देशहरूबाट पर्यटकहरू आउने गरेका छन् ।
सिजनमा पर्यटकहरूको आवागमनलाई व्यवस्थीत गर्दै पर्यटकहरूबाट सगरमाथा क्षेत्रको विकासका लागी योगदान स्वरुप गाउँपालिकाले राजस्व शुल्क उठाउने गरेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो । उहाँले उक्त रकम पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार निर्माण र सौन्दर्यीकरण लगायतमा मितव्ययी ढङ्गले खर्च गरिँदै आएको बताउनुभयो । गाउँपालिकाले चिन र सार्क राष्ट्रका पर्यटकहरूलाई गाउँपालिका क्षेत्र प्रवेश बापद २ हजार रुपैयाँ र अन्य विदेशी मुलुकबाट आउने पर्यटकका लागी ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकेको छ ।
Discussion about this post