जेठ १४, सोलुखुम्बु । जिल्ला अदालत ओखलढुंगाबाट जिल्ला न्यायाधीश गिरिराज गौतमको नेतृत्वमा आएको टोलीले खिजिदेम्बा गाउँपालिकाको न्यायिक समितिले सम्पादन गर्दै आएको कामकाजको अनुगमन सम्पन्न गरेको छ । बुधबार अनुगमनको क्रममा घरेलु हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रम समेत सम्पन्न गरिएको हो । गाउँपालिकाको सभा हलमा आयोजित औपचारिक कार्यक्रम गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा उपाध्यक्ष सुशीला तामाङ, वडा नं ६ का वडा अध्यक्ष पासाङ निमा शेर्पा, न्यायिक समितिका सदस्यहरू, गाउँपालिकाका कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । जिल्ला न्यायाधीश गौतमले घरेलु हिंसा न्यूनीकरणका लागि कानुनी व्यवस्थाहरू, स्थानीय तहको भूमिका, तथा पीडितको संरक्षण र न्याय प्राप्तिको प्रक्रिया बारेमा विस्तृत जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहमा न्यायिक समितिहरूले निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउन अनुगमन र छलफल आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले न्यायिक समितिको काममा सुधार ल्याउन यस्ता अनुगमन र प्रशिक्षण कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्दै, आगामी दिनमा न्यायप्रणालीलाई अझ जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यमा सहभागीहरूले घरेलु हिंसासम्बन्धी जनचेतना अभिवृद्धिका लागि निरन्तर कार्यक्रम आवश्यक रहेको सुझाव दिएका थिए ।
Discussion about this post