जेठ १५, सोलुखुम्बु । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि बङ्गालको खाडीको जलवाष्पयुक्त हावा थप सक्रिय भएकाले लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
गएको ३ घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाण्डौ उपत्यकासहित अरु विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् गोविन्द झाले बताउनुभयो । आज कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना देखिएको छ । यस्तै बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी पार्ने प्रणाली भोलि र पर्सि झन् धेरै सक्रिय हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यो प्रणालीले मधेश प्रदेशको जनकपुरदेखि पूर्वी तराईमा ठूलो पानी पर्ने सम्भावना रहेको जलवायु तथा विपद् विज्ञ डा। धर्मराज उप्रेतीले बताउनुभएको छ । यस वर्षको मनसुन पनि शनिवारदेखि शुरू हुने अनुमान छ ।
Discussion about this post