जेठ १५, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ५ का सुमन कुलुङले यस वर्षको तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधि जित्न सफल भएका छन् । हिमालय एक्सपिडिसन कम्पनीको आयोजनामा सम्पन्न प्रतियोगितामा उनले एभरेष्ट बेसक्याम्पदेखि नाम्चेसम्मको ४२ किलोमिटर दुरी ३ घण्टा ५० मिनेट २६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरे ।
विश्वकै सर्वोच्च उचाइमा आयोजना गरिने अनौठो म्याराथनका रूपमा परिचित यो प्रतियोगिता सगरमाथा (एभरेष्ट) को सफल आरोहणको ७२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो । प्रतियोगिता हिमाली खेल पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजक संस्था हिमालय एक्सपिडिसनले जनाएको छ ।
पुरुष तर्फको म्याराथनमा रामेछापका गोपाल तामाङले ३ घण्टा ५२ मिनेट ३० सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरे भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ का अर्जुन कुलुङले ४ घण्टा २ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान प्राप्त गरे । प्रतियोगितामा नेपाली धावकहरूको सशक्त उपस्थिति र सफलताले हिमाली क्षेत्रको साहसिक खेलकुद क्षमताको प्रदर्शन गरेको छ । आयोजकहरूका अनुसार आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक बनाउँदै अन्तर्राष्ट्रिय सहभागिता बढाउने योजना समेत बनाइएको छ ।
Discussion about this post