जेठ १५, सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ निवासी प्रहरी जवान लाक्पा ङिमा शेर्पाले यस वर्षको तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको महिला तर्फको उपाधि जित्न सफल भएकी छन् । हिमालय एक्सपिडिसन कम्पनीद्वारा आयोजित म्याराथनमा उनले एभरेष्ट बेसक्याम्पदेखि नाम्चेसम्मको ४२ किलोमिटर दुरी ५ घण्टा १५ मिनेट ४६ सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा विजयी बनेकी शेर्पालाई प्रमुख जिलाला अधिकारी अनोजकुमार घिमिरे र प्रहरी नायव उपरीक्षक ९डिएसपी० मनोजित कुँवरले नाम्चेमा आयोजित विशेष समारोहका बीच सम्मान गरिएको रेडियो एभरेष्टका प्रबन्धक निर्देशक भानुभक्त निरौलाले जानकारी दिएका हुन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले खेलकुद क्षेत्रमा समेत प्रहरीको शान बढाएको भन्दै विजेता शेर्पाको प्रशंसा गरेका छन् । म्याराथनको महिला तर्फ दोस्रो स्थान अनिता राईले ५ घण्टा १८ मिनेट ९ सेकेण्डमा र तेस्रो स्थान दिलकला कुलुङले ५ घण्टा ४० मिनेट ३१ सेकेण्डमा दूरी पार गर्दै प्राप्त गरे ।
यस्तै, रुन हानाले ५ घण्टा १९ मिनेट ३२ सेकेण्डमा दूरी पार गर्दै चौथो स्थानमा रहेकी छन् । सगरमाथाको सफल आरोहणको ७२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यो म्याराथन विश्वकै सर्वोच्च उचाइमा आयोजना गरिने अनौठो प्रतिस्पर्धा मानिन्छ । प्रतियोगिताले हिमाली खेल पर्यटन प्रवद्र्धनमा थप योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ
Discussion about this post