जेठ १७, सोलुखुम्बु । लामो समय देखि सिमा विवाद रहेको सोलुखुम्बु र ओखल्ढुंगाको बुलबुले क्षेत्रको विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ । शनिबार दुई जिल्लाको सुरक्षा समितिका पदाधिकारीको सल्लेरीमा बसेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले संयुक्त यस्तो निर्णय गरेको हो ।
सोलुखुम्बु र ओखल्ढुंगाको सिमानामा पर्ने तोलु गुम्बा, बुलबुले, लोमुजे बौद्ध हुँदै छुटाँगाका क्षेत्रहरुमा विगत २०४३ साल देखिनै सिमा विवाद रहेकोमा कुन जिल्लाको हो भनि यकिन गर्नका लागि समिति गठन गरिएको हो । उक्त क्षेत्र ओखल्ढुंगाको खिजिदेम्बा गाउँ पालिका या सोलुको सोलुदुधकुण्ड नगरपालिका कहाँ पर्ने भन्ने विषय विवादित रहँदै आएको छ ।
बैठकले दुवै जिल्लाको मालपोत र नापि कार्यालयका कागजात अध्ययन गरि १५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरि समिति गठन गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । समितिमा ओखल्ढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल (पौडेल) संयोजक, सोलु र ओखल्ढुंगाका मालपोत र नापि कार्यालयका प्रमुख सदस्य र जिल्ला प्रशासन सोलुका नायब सुब्बा सुमन कार्की सदस्य सचिव रहेका छन् । ओखल्ढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी आफ्नो नेतृत्वमा जिल्लाको सुरक्षा समितिको टिम लिएर बैठकका लागि सोलुखुम्बु सदरमुकाम सल्लेरी आएका हुन् ।
बैठकमा दुवै जिल्ला स्थित नेपालनी सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकले बर्षायाममा दुवै जिल्लालाई छुने राजमार्गको सहज संचालनको लागि आवश्यक पहल कदमि लिने र शान्ति सुरक्षा र अपराध नियान्त्रणमा संयुक्त रणनिति निर्माण गर्ने लगायतका निर्णय गरेको छ । साथै सडक दुर्घटना न्युनिकरणका लागि सडकमा रिफ्लेक्टर्स बत्ति राख्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको सोलुखुम्बु प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
Discussion about this post