जेठ १८, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले स्थानीय नागरिकका गुनासो तथा सुझावहरू सिधै गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत समक्ष पुर्याउन सकिने नयाँ प्रविधिमैत्री अनलाइन सेवा सुरु गरेको छ । यस सेवामार्फत गाउँपालिकाभित्रका जुनसुकै क्षेत्रमा देखिएको समस्या, गुनासो वा सल्लाह अनलाइन फारम भरेर सम्बन्धित निकायमा सजिलै जानकारी गराउन सकिने व्यवस्था मिलाइएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ कि फारममा नाम र थर उल्लेख नगरीकन पनि गुनासो गोप्य रूपमा पेश गर्न सकिने सुविधा राखिएको छ, जसले नागरिकलाई बिना डर आफ्ना समस्या उजागर गर्न सहज बनाउने विश्वास गरिएको छ । यस सेवा प्रयोग गर्न चाहनेहरूले गाउँपालिकाले उपलब्ध गराएको क्युआर कोड स्क्यान गरेर वा तोकिएको अनलाइन लिङ्कमा क्लिक गरेर फारम भरिसकेपछि गुनासो पठाउन सक्नेछन् ।
गुनासोहरू हरेक शुक्रबार गाउँपालिकाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ, जसले पारदर्शिता कायम गर्न र गुनासो सम्बोधन प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्ने गाउँपालिकाको अपेक्षा छ । सोताङ गाउँपालिकाको यो डिजिटल पहलले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने, तथा नागरिकको आवाज सिधै सुन्ने वातावरण निर्माण गर्ने उद्देश्य राखेको छ ।
Discussion about this post