जेठ २०, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानीको चालु आर्थिक बर्षको प्रगति ९५ प्रतिशत भएको छ । वडा कार्यालयमा मंगलबार सम्पन्न सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष लाक्पा गेलु शेर्पाले वडालाई प्राप्त बजेट ४१ लाख मध्ये ९५ प्रतिशत काम सम्पन्न भईसकेको विवरण प्रस्तुत गर्नु भएको हो ।
नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यता तथा रेडियो एभरेष्टको सहजिकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष शेर्पाले वडाबाट संचालित योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले वडा नम्बर ३ को धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा नगरपालिकाले उच्च महत्व दिएर बजेट विनियोजन गरेको बताउनु भयो । वहाँले ज्वालामाई मन्दिर निर्माण, गुम्बा निर्माण तथा सडक स्तरउन्नती र ग्रामिण विद्युतीकरणका लागि आफुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।
स्वास्थ्य चौकी भवन निर्माण र वडा कार्यालय निर्माणको लागि बजेट ब्यवस्थापन भएको भन्दै चाँडै निर्माण प्रकृया अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा वडा सचिव जगदिश गौतमले चालु आर्थिक बर्षको हालसम्मको अवधिमा भएको सेवा प्रवाहको अवस्थाको बारेमा विस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो ।
वहाँले बर्ष भरिमा विभिन्न शिर्षकमा ८ सय वटा सिफारिस गरिएको र ३ लाख ८१ हजार आन्तरिक राजश्व संकलन भएको जानकारी गराउनु भयो । कार्यक्रममा सहभागि विभिन्न राजनैतिक दल र संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जिज्ञाशा र सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।
Discussion about this post