जेठ २३, सोलुखुम्बु । हिजो बेलुकादेखि आज बिहानसम्म देशका विभिन्न ठाउँमा वर्षा परे पनि अहिले भने काठमाडौं उपत्यकासहित देशका धेरैजसो क्षेत्रमा मौसम खुलेको छ र घाम लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको छ भने कोशी प्रदेशका धेरै स्थानमा अझै पनि मनसुनी वायुको प्रभाव सक्रिय छ ।
आज दिउँसो मधेस प्रदेश बाहेक अन्य सबै प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। तर देशका कुनै पनि भागमा बाढीको जोखिम हुने गरी ठूलो वर्षा भने नहुने उहाँले बताउनुभयो। महर्जनका अनुसार आजभन्दा भोलि र भोलिभन्दा पर्सि क्रमशः वर्षा घट्दै जानेछ।
महाशाखाको मापदण्ड अनुसार १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, र ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कमको वर्षालाई भारी वर्षा मानिन्छ । मौसमविद्हरूले हालको वर्षालाई सामान्य मौसमी गतिविधिका रूपमा हेरेका छन् र कृषिका लागि लाभदायक हुने सम्भावना पनि व्यक्त गरेका छन्। आगामी केही दिन मौसम स्थिरतर्फ जाने संकेत देखिएको छ ।
Discussion about this post