जेठ २३, सोलुखुम्बु । चालु आर्थिक वर्षको १० महिनामा ओखलढुङ्गाबाट २१ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत उच्च जोखिममा परेका महिलाहरूको ज्यान जोगाउनका लागि सञ्चालित यो कार्यक्रम प्रभावकारी भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिनुभयो ।
उद्धार गरिएका सबै महिलालाई काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको पौडेलले बताउनुभयो। “दुर्गम भेगका महिलाहरूको ज्यान बचाउन यो कार्यक्रम निकै प्रभावकारी साबित भएको छ,” उहाँले भन्नुभयो । जिल्लास्तरीय आमासमूह सञ्जालकी अध्यक्ष कान्ती राजभण्डारीका अनुसार, विगतमा आर्थिक अभावका कारण थुप्रै गर्भवती र सुत्केरी महिलाहरूले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपथ्र्यो।
“अब भने महिला उत्थान कार्यक्रममार्फत दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएका छन्,” राजभण्डारीले भन्नुभयो । महँगो हेलिकप्टर चार्टर गरेर मात्र काठमाडौं लैजान सक्ने अवस्था हुँदा विपन्न वर्गका महिलाहरू उपचारबाट वञ्चित हुने गरेका थिए। तर अहिले सरकारको पहलमा सबै वर्गका महिलाहरूले समान रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न थालेका छन् । यो कार्यक्रमले न केवल गर्भवती तथा सुत्केरी महिलाको ज्यान बचाउने काम गरेको छ, तर स्वास्थ्य क्षेत्रमा समान पहुँच सुनिश्चित गर्दै सामाजिक न्यायमा समेत योगदान पुर्याएको छ ।











Discussion about this post