जेठ २३, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नं. ४ मा अवस्थित ककनिश्वर माध्यमिक विद्यालयमा हालै खानेपानी शुद्धीकरण फिल्टर जडान गरिएको छ । करिब ३०० विद्यार्थी र १७ जना शिक्षक तथा कर्मचारी कार्यरत यस विद्यालयमा उक्त फिल्टर जडान भएपछि अब विद्यालयमा शुद्ध र सुरक्षित पिउने पानी उपलब्ध हुने भएको छ ।
विद्यालयका प्रधानाध्यापक श्रीकान्त पण्डितका अनुसार फिल्टर जडानको काम प्राविधिकहरूले राति अबेरसम्म खटिएर सम्पन्न गरेका हुन् । “विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर राखी यो आवश्यक रहेको थियो,“ उहाँले बताउनुभयो ।
प्रधानाध्यापक पण्डितका अनुसार फिल्टर जडानको लागि ताप्ली गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको थियो । विद्यालयमा शुद्ध पिउने पानीको अभावले गर्दा अघिल्ला वर्षहरूमा विद्यार्थीहरू विभिन्न जलजन्य रोगको शिकार हुने गरेका थिए। अब नयाँ फिल्टर जडानसँगै सो समस्याबाट मुक्ति मिल्ने विद्यालय प्रशासनको विश्वास छ ।
Discussion about this post