जेठ २४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरिएको छ। “बालबालिकामा लगानी, सबैको सरोकार; बालमैत्री नगर विकास र समृद्धिको आधार“ भन्ने मुल नाराका साथ शनिबारदेखि सल्लेरीस्थित एक होटलमा तालिम सुरु गरिएको हो । नगरपालिकाले आगामी वर्ष २०८३ मा सोलुदुधकुण्डलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य राखेको छ ।
सोही उद्देश्यअनुसार वडास्तरमा आवश्यक तयारीहरू भइरहेका छन् । यसैक्रममा वडा नम्बर ७, गार्माले जेठ २९ गते बालमैत्री वडा घोषणा गर्ने तयारी गरिरहेको छ । बाँकी १० वटा वडाबाट २–२ जना गरी चयन गरिएका सहभागीहरूलाई तालिम दिइएको तालिम कार्यक्रमका संयोजक तथा प्रशिक्षक सुमन ढकालले यो जानकारी दिनुभयो । तालिमको उद्घाटन सत्रमा बोल्दै नगरपालिकाकी उपमेयर गान्धि माया तामाङले यो तालिम साधारण नभई भविष्यमा प्रशिक्षकका रूपमा काम गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।
उहाँले सहभागीहरूलाई जिम्मेवार र सक्षम प्रशिक्षक बन्न आह्वान गर्नुभयो । त्यस्तै, वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पाले तालिमपछि सहभागीहरूले आफूले सिकेको ज्ञान अन्य व्यक्तिहरुलाई पनि दिन सक्ने हुँदा स्थानीय तहबाट माग भएमा प्रशिक्षकको रूपमा पठाउन सकिने जानकारी दिनुभयो । उहाँले तालिमले सहभागीहरूलाई आर्थिक रूपमा पनि सक्षम बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । यो तालिमले सोलुदुधकुण्ड नगरपालिकालाई बालमैत्री स्थानीय शासनको रुपमा विकास गर्न थप टेवा पुग्ने विश्वास लिइएको छ ।
Discussion about this post