जेठ २५, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाल शिक्षक महासंघको पालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अधिवेशन सोताङ गाउँपालिका अध्यक्ष खिराज बस्नेतको प्रमुख आतिथ्यमा तथा संयोजक विजय नाछिरिङको अध्यक्षतामा सम्पन्न भएको हो । अधिवेशनले पालिका भित्र क्रियाशील सबै शिक्षक संघ तथा संगठनहरूको सहमतिमा मोतीराम बस्नेतलाई नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिका अध्यक्षमा चयन गरेको छ ।
यस्तै, सचिवमा लाककुविर राई, उपेन्द्र राई सह–अध्यक्षसहित अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको छ । नव–निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष खिराज बस्नेतले शिक्षकहरूको हकहितको पक्षमा सदैव साथ रहने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले आधारभूत तहका विद्यालयका प्रधानाध्यापकहरूले पाउँदै आएको मासिक भत्तामा एक हजार रुपैयाँ थप गरिने तथा माध्यमिक तहका प्रधानाध्यापकहरूको भत्तामा १५ सय रुपैयाँ थप गरिने घोषणा गर्नुभयो । अध्यक्ष बस्नेतले सामुदायिक विद्यालयहरूलाई थप प्रशासनिक रूपमा सशक्त बनाउन सबै सरोकारवालाहरूलाई साथ र सहयोगको अपिलसमेत गर्नुभयो ।
Discussion about this post