जेठ ३०, सोलुखुम्बु । किरात राई कर्मचारी मञ्च सोलुखुम्बुको आयोजनामा सोलु दुधकुण्ड नगरपालिका–५ स्थित जिमी राई उत्थान समाज सोलुखुम्बुको तोसिखोम भुमेथान साकेला थान क्षेत्रमा साकुरा वृक्षारोपण गरिएको छ । उक्त कार्यक्रममा जापानीज साकुरा (गुलाबी र सेतो फुल फुल्ने वृक्ष), मयुरपंखी धुपी, काउलो र पैँयु जातका गरी जम्मा २५ वटा बिरुवा रोपिएको छ। जापानमा अत्यन्तै लोकप्रिय मानिने साकुरा फुलको सौन्दर्यलाई मध्यनजर गर्दै धार्मिक तथा पर्यावरणीय महत्व बोकेको साकेला थान क्षेत्रमा वृक्षारोपण गरिएको आयोजकले जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा जिमी राई उत्थान समाज सोलुका अध्यक्ष ढाक बहादुर राई, कर्मचारी मञ्चका सल्लाहकार दिनेश राई, अध्यक्ष मना राज राई तथा अन्य पदाधिकारीहरू सक्रिय रुपमा सहभागी भएका थिए । संस्थाका अनुसार प्राकृतिक सौन्दर्य अभिवृद्धि गर्नुका साथै संस्कृति र वातावरण संरक्षण गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ । वृक्षारोपणमार्फत समुदायमा हरियाली, पर्यटन प्रवद्र्धन र जैविक विविधता संरक्षणमा योगदान पुग्ने विश्वास आयोजकको छ ।
Discussion about this post