असार १, सोलखुम्बु । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछन् । चालु आर्थिक वर्षका लागि उनले ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएका थिए ।
चालु आर्थिक वर्षको बजेट ल्याउँदा नेकपा माओवादी केन्द्र सरकारको थियो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा माओवादी प्रतिपक्षमा छ । कांग्रेस र एमालेको सरकार छ । प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याउने बजेट ३७ अर्ब हाराहारीको हुनेछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३७ अर्ब हाराहारीको हुने बताउनुभयो । झापाको गौरदह क्याम्पसमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट ३७ अर्ब हाराहारीको हुने बताउनुभएको थियो ।
प्रदेशले सार्वजनिक गर्ने बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई दुई करोड ५० लाखका दरले बजेट दिइएको छ । सामानुपातिक सांसदलाई एक करोड ५० लाखका दरले बजेट दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ । सांसदले पेश गरेका भौतिक पूर्वाधार निर्माणका योजनालाई भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट छूट्याइएको छ । प्रदेशको बजेटमा प्रहरीका लागि संरचना निर्माण, मुख्यमन्त्री कार्कीले अघि सारेको मअघि बढ्छु लगायत कार्यक्रम पनि समावेश गरिएका छन् ।
Discussion about this post