असार ०१,साेलुखुम्बु । सामाजिक सञ्जालमा देखिएको एउटा गम्भीर खालको दुरुपयोगको घटनाले सोलुखुम्बु जिल्लालाई चकित तुल्याएको छ । फेसबुक जस्ता डिजिटल प्लेटफर्ममार्फत युवतीहरूलाई माया प्रेमको झुटो जालमा पारेर जबरजस्ती करणी तथा शारीरिक शोषण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने महाकुलुङ गाउँपालिका–२, निकासी नरेश कुलुङ हुन् । उनीमाथि फरक–फरक नामबाट सामाजिक सञ्जालमा फेक आइडीहरू बनाउँदै किशोरीहरूसँग सम्पर्क गर्ने, उनीहरूलाई भावनात्मक रूपमा प्रभावमा पारेर भेट्न बाध्य बनाउने र पछि यौन दुव्र्यवहार गर्ने गम्भीर आरोप लागेको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवंम सूचना अधिकारी विकास राईका अनुसार, कुलुङले सामाजिक सञ्जालमार्फत कम्तीमा पाँचवटा फेक फेसबुक आइडी सञ्चालन गर्दै आएका थिए । उनी ती आइडीमार्फत किशोरीहरूको मोबाइल नम्बर संकलन गरी फोन तथा म्यासेन्जरमा संवाद गर्ने गर्थे। कतिपय अवस्थामा उनले धम्कीसमेत दिने गरेका थिए । एक १६ वर्षीया किशोरीलाई बारम्बार फकाएर एकान्त स्थानमा लगी करणी गरिएको र उनलाई बन्धक बनाएर कुटपिट गरिएको पीडितका अभिभावकको उजुरीमा उल्लेख छ ।
अर्काे घटनामा १९ वर्षीया किशोरीलाई फेक आइडी प्रयोग गरी एकान्त जंगलमा बोलाएर करणी गर्नुका साथै मोबाइल र सुनका गहना लुटिएको उजुरी परेको छ । नरेश कुलुङले प्रारम्भिक बयानमा दुवै घटनामा संलग्न रहेको स्वीकारेका छन् । प्रहरीका अनुसार घटनामा प्रयोग भएका मोबाइल र लुटिएका सामग्रीहरू समेत बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कुलुङले फेसबुकमा एक दर्जनभन्दा बढी नक्कली अकाउन्ट सञ्चालन गर्दै आएका थिए र यस्ता यौन शोषणका घटनामा थप संलग्न रहेको आशंका गरिएको छ। उनलाई हाल जिल्ला अदालत सोलुखुम्बुबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । सामाजिक सञ्जालको यस्ता गम्भीर दुरुपयोगबाट सतर्क रहन सोलुखुम्बु प्रहरीले सबैलाई आग्रह गरेको छ ।
Discussion about this post