असार ०१, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ स्थित पाब्दु र सेलुवाका किसानहरू पछिल्लो समय बादरको आतंकका कारण हैरान परेका छन् । मकैको सिजन सुरु भएसँगै करिब २ सयको हाराहारीमा रहेको बादरको झुण्ड खेतबारीमा पसेर किसानको पसिनाले सिँचिएको बालीनाली नष्ट गरिदिँदा उनीहरू चिन्तित भएका हुन् ।
आईतबारका दिन मात्रै पाब्दुका पूर्ण बहादुर राई, कुमारी विक, सम्पुर सिंह राई र पाब्दु, सेलुवाका कृष्णप्रसाद घिमिरे तथा देविप्रसाद घिमिरेका मकैबारीमा व्यापक क्षति पुगेको छ । खेतबारीमा लहलह फलेको मकैबाली एकैछिनमा खाएर नष्ट गरिदिएपछि किसानहरूको दुःख दोब्बर भएको छ । स्थानीय किसानहरूको भनाइमा पहिले पनि बादरले क्षति पु–याउँदै आएका थिए तर यस वर्ष झनै बढेको आतंकले खेती नै संकटमा परेको उनीहरूको गुनासो छ ।
“मिहिनेतले तयार पारेको मकै एकैछिनमै स्वाहा पारिन्छ, अब त खेती गर्नुको अर्थै भएन,“ एक स्थानीय कृषकले दुख व्यक्त गरेका छन् । किसानहरूले बादर नियन्त्रणका लागि गाउँपालिका तथा सरोकारवाला निकायलाई तत्काल पहल गर्न माग गरेका छन् । बादरको आक्रमणसँगै खाद्यान्न अभाव र आर्थिक संकट झनै गहिरिने चिन्ता स्थानीयमा छ । तसर्थ, पीडित किसानहरूले स्थानीय तह र वन कार्यालयसँग मिलेर दीर्घकालीन समाधान खोज्न आह्वान गरेका छन् ।
Discussion about this post