असार ०१, सोलुखुम्बु । भारत सरकारको विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दूतावासले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष सूर्यबहादुर राईका अनुसार, एम्बुलेन्स हस्तान्तरण कार्यक्रम बिराटनगरमा सम्पन्न भएको हो ।
“स्वास्थ्य सेवा सुधारका लागि हामीले २०७८ साल फागुन १९ गते भारतीय दूतावासमा औपचारिक निवेदन पठाएका थियौं, जुन स्वीकृत भई अब गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आउने भएको छ,“ अध्यक्ष राईले बताउनुभयो । महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि आचार्यका अनुसार, आधारभूत अस्पतालको नाममा पठाइएको इमेल निवेदन स्वीकृत भई एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
यो एम्बुलेन्स गाउँपालिका भित्रको आपतकालीन स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ । बिराटनगर भन्सार कार्यालयको प्रजापत्र पाना नम्बर ६३३३६ अन्तर्गत भन्सार प्रक्रिया पुरा गरी एम्बुलेन्स महाकुलुङ तर्फ ल्याइएको हो । सहकर्मी झलक राईले जानकारी गराए अनुसार, मिक्स कलर भएको, इन्जिन नम्बर २९८७२ रहेको सो सवारीसाधन अस्थायी नम्बर प्लेट ‘प. भ. प. जे ३९२’ प्रयोग गरी धरानसम्म ल्याइएको हो।
चालक विजयले बिराटनगरबाट उक्त सवारी सञ्चालन गरेका थिए । यस सहयोगले महाकुलुङ गाउँपालिकामा आपतकालीन सेवा विस्तारमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।
Discussion about this post