असार ५, सोलुखुम्बु । महाकुलुङ गाउँपालिका र इको हिमाल नेपालबीचको सहकार्यमा सञ्चालित ग्रामीण स्वास्थ्य सहयोग परियोजनाअन्तर्गत गाउँपालिकाका ६ वटा स्वास्थ्य संस्थालाई अत्यावश्यक औषधि र स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरिएको छ । बार्षिक कार्य योजना अनुसार बिहीबार महाकुलुङ गाउँपालिका–५ स्थित महाकुलुङ आधारभूत अस्पताल, बुङ पेल्माङ आधारभूत सेवा केन्द्र, र छेस्काम स्वास्थ्य चौकीलाई औषधि तथा उपकरणहरू हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष बिपना कुलुङ, वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष पर्खिधन राई र दुर्गा बहादुर राई, साथै स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्य र इको हिमाल नेपालका परियोजना अधिकृत गोमा शर्मा लगायतको उपस्थिति रहेको थियो । औषधिहरूमा पेटापारासिटामोल, एन्टासिड, ल्याक्टुलोज लगायत रहेका छन् भने उपकरणहरूमा स्टेथेस्कोप, अटोक्लेप, ह्वीलचियर, रंगीन डस्टबिन लगायतका सामग्रीहरू रहेको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।
बाँकी तीनवटा स्वास्थ्य संस्थाहरू गुदेल स्वास्थ्य चौकी, तुमाउ आधारभूत सेवा केन्द्र, र खिरौले सामुदायिक स्वास्थ्य इकाईलाई शुक्रबार औषधि तथा उपकरणहरू हस्तान्तरण गरिने कार्यक्रम रहेको इको हिमाल नेपालले जनाएको छ । गाउँपालिकाका दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवा सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम संचालन गरिएको र यसबाट स्थानियवासीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
Discussion about this post