असार ५, सोलुखुम्बु । लागुऔषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा प्रहरीले उदयपुरका दुई जनासहित ८ जना चालकलाई काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खु सुमो काउन्टरमा लापसे परीक्षण गर्दा उनीहरूले लागुऔषध सेवन गरेको पुष्टि भएको हो । पक्राउ पर्नेमा उदयपुर घर भएका प्रदिप बिक र विराज कार्की छन् । उनीहरूका साथमा बारा, तनहुँ, झापा र काभ्रेपलाञ्चोकका अन्य ६ जना चालक पनि पक्राउ परेका छन्।
लापसे परीक्षण लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी अस्पतालको समन्वयमा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले जानकारी दिनुभयो । उदयपुरका चालकहरू लामो दूरीका सवारीसाधन सञ्चालनमा संलग्न रहेको बताइएको छ। प्रहरीले उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । एसपी बोहराका अनुसार ट्राफिक सुरक्षालाई मध्यनजर गर्दै राजधानी भित्रिने र बाहिरिने सार्वजनिक यातायातमा निगरानी कडा पारिएको छ । प्रहरीका अनुसार लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्नुले गम्भीर दुर्घटनाको जोखिम बढाउँछ, जसकारण यस्ता गतिविधिमाथि कडा निगरानी आवश्यक छ ।
Discussion about this post