असार ६, सोलुखुम्बु । सल्लेरी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका–४ स्थित एक होटलमा दुई दिने “कानुन तथा क्षमता विकास र मनोविमर्श गोष्ठी“ सम्पन्न भएको छ । बिहीबार सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । गोष्ठीको उद्घाटन कार्यक्रम सल्लेरी सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष सौमाया राईको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई, सोलुखुम्बुका प्रमुख पुण्यराज डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त तालिममा विभिन्न समूहका करिब २५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले तालिमबाट आफूहरूलाई कानुनी जानकारी, आत्मविश्वास अभिवृद्धि, तथा व्यक्तिगत र सामूहिक नेतृत्व क्षमतामा उल्लेखनीय वृद्धि भएको अनुभव व्यक्त गरेका छन् । गाउँघरका महिलालाई कानुनी विषयहरू सजिलै बुझ्न सक्ने गरी सिकाइ दिनु ठूलो उपलब्धि रहेको सहभागीहरुले आयोजकलाई धन्यवाद व्यक्त गरेका छन् ।
गोष्ठीमा स्थानीय महिला अगुवा, सामुदायिक संस्था प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । तालिमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । गोष्ठीमार्फत महिलाहरूको सशक्तीकरण र समुदायमा उनीहरूको सहभागिता अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
Discussion about this post