असार ७, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि प्रत्येक वडालाई एक–एक करोड रुपैयाँको पुँजीगत बजेट विनियोजन गर्ने प्रस्ताव गरेको छ। गाउँपालिकामा सम्पन्न स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले सो प्रस्ताव गरेको हो। उक्त बैठक गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङको अध्यक्षतामा जेष्ठ ३० गते बसेको थियो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ अनुसार, समितिले आगामी गाउँसभा समक्ष प्रस्तुत गर्ने गरी उक्त बजेट सीमा निर्धारण गरेको हो।
गाउँसभाले प्रस्ताव पारित गरेपछि गाउँपालिकाका ५ वटा वडाले आ–आफ्नो एक करोड रुपैयाँको सीमाभित्र रहेर पुँजीगत योजना छनोट गर्नुपर्नेछ। पालिकाले सडक, भवन तथा यातायात पूर्वाधार, खानेपानी, सिंचाइ, शिक्षा, खेलकुद, स्वास्थ्य सेवा, कृषि, पशुसेवा, आय–आर्जन, पर्यटकीय पूर्वाधार विकास तथा रोजगार प्रवद्र्धनका कार्यक्रमहरूलाई प्राथमिकता दिने जनाएको छ।
महाकुलुङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल बजेट ४९ करोड ४२ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । बजेट निर्माण प्रक्रियालाई पारदर्शी, सहभागीमूलक र उद्देश्यकेन्द्रित बनाउने उद्देश्यले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरिएको हो। गाउँपालिकाले स्थानीय स्तरमा आवश्यक पर्ने आधारभूत सेवा सुविधा प्रवाह तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै योजनाहरू छनोट गरिने जानकारी दिएको छ ।
Discussion about this post