असार ७, सोलुखुम्बु । उदयपुरको रौतामाई गाउँपालिकाले महिला लक्षित १० दिने गुडिया तथा कुसन बनाउने तालिम सम्पन्न गरेको छ । उद्यमशीलता विकास, सीपयुक्त जनशक्ति उत्पादन र आर्थिक उन्नयनका उद्देश्यसहित सो तालिम युवा महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएको हो । तालिम रौतामाई गाउँपालिका वडा नं. ६ स्थित रौता निकासमा सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष वीरेन्द्र कुमार मगर, उपाध्यक्ष भुपिन्द्र बहादुर थापा र वडा नं. ६ का अध्यक्ष पृथ्वी कुमार राईको उपस्थितिमा गरिएको थियो भने समापन कार्यक्रम वडा अध्यक्ष राईकै अध्यक्षतामा सम्पन्न गरिएको छ । गाउँपालिका सीबीआर सहजकर्ता लोक बहादुर बिकका अनुसार, तालिम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको हो । उद्घाटन समारोहमा अध्यक्ष मगरले समृद्ध रौतामाई बनाउने यात्रामा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै, “तालिम राम्रोसँग सिक्नुस्, आवश्यक परे हामी सधैं सहयोगका लागि तयार छौं,” भन्दै सहभागिहरूलाई उत्प्रेरित गर्नुभयो ।
यस्तै उपाध्यक्ष थापाले समेत सहभागी महिलाहरुलाई सीपमा आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । तालिममा सहभागी महिलाहरुले विभिन्न प्रकारका डल र चार किसिमका कुसन तयार पारेका थिए । समापन समारोहमा सहभागी सन्जिता खत्रीले, “हामीले फरक कुरा सिक्न पायौं,” भन्दै गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो। साथै उहाँले सहभागी महिलाहरूको तर्फबाट तयार पारेका सामग्री अतिथिहरुलाई सम्मान स्वरूप प्रदान गर्नुभएको थियो ।
१० दिनसम्म सञ्चालन भएको सो तालिमको सहजीकरण निर्तमाला कर्णले गर्नुभएको थियो । तालिममार्फत महिलाहरूमा सीप विकासका साथै आत्मविश्वास र आर्थिक रूपान्तरणको मार्गप्रशस्त हुने अपेक्षा गरिएको छ ।
Discussion about this post