असार १२, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । माप्य दुधकोशी गाउँपालिकाको आयोजना तथा रेडियो एभरेष्टको सहजीकरणमा बिहीबार आयोजना गरिएको कार्यक्रममा स्थानीय स्तरमा सम्पन्न भएका योजना, प्रगति तथा जनगुनासोका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष सगुजित राईले चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालनमा रहेका विभिन्न योजना तथा कार्यहरुको बारेमा सहभागीहरुसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । उहाँले वडाभित्र रहेका ७ वटा विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाहका लागि ठूलो मात्रामा लगानी गरिएको जानकारी दिनुभयो । राईका अनुसार विद्यालयको भैतिक संचना, शैक्षिक सामग्री वितरण लगायतका क्षेत्रमा वडाको प्राथमिकता रहेको छ ।
कार्यक्रममा सहभागी स्थानीयबासीले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा देखिएका समस्या र सम्भावनाका विषयमा प्रश्न उठाएका थिए, जसको वडाध्यक्ष राईले यथासम्भव जवाफ दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमले जनप्रतिनिधि र स्थानीय नागरिकबीच सिधा संवादको अवसर प्रदान गर्नुका साथै पारदर्शिता तथा जवाफदेहिताको अभ्यासलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
Discussion about this post