असार १४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले च्याम संस्थासँग सहकार्य गर्दै बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि ११ करोडभन्दा बढीको सहयोग सम्झौता गरेको छ । शनिबार नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा र सोलु च्याम संस्थाको तर्फबाट नेपाल प्रतिनिधि निमा शेर्पाबीच ११ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरको सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतासँगै नुम्बुर बहुप्राविधिक विद्यालयको दीगो सञ्चालनका लागि भरपर्दो आधार तयार भएको नगर प्रमुख शेर्पाले जानकारी दिनुभयो । अब सोलुदुधकुण्ड नगरपालिकामात्र नभई सम्पूर्ण सोलुखुम्बु जिल्लामै प्राविधिक शिक्षाको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक शिक्षा र दक्ष जनशक्ति उत्पादनलाई लक्षित गरी अघि बढाइएको यस पहलले स्थानीय युवा तथा विद्यार्थीहरूलाई रोजगारीमुखी शिक्षा प्राप्त गर्न सहज बनाउने अपेक्षा लिइएको छ ।
Discussion about this post