असार १४, सोलुखुम्बु । ओखलढुंगामा सिँचाइ पोखरीमा डुबेर बालकको ज्यान गएको छ । जिल्लाको लिखु गाउँपालिका–३ सत्लुङ नर्मदेश्वर मावली घरमा बस्दैआएका रामेछाप नगरपालिका–२ रामेछापका चक्रबहादुर बसेलका ११ वर्षिय छोरा हिमाल बसेलको पोखरीमा डुबेर ज्यान गएको हो । शुक्रबार दिउँसो खेल्न घरबाट हिँडेका बसेल राति अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा मावली घरभन्दा करिब २०० मिटर टाढा रहेको सिँचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेको अवस्थामा फेला पारिएको मावली हजुरबुवा टेकबहादुर मिजारले जानकारी दिनुभयो ।
पौडी खेल्ने क्रममा डुबेर बसेलको ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुइटेलको नेतृत्वमा घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रवक्ता प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
Discussion about this post