असार १४, सोलुखुमबु । खोटाङको केपिलासगढी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा गरिएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा जन्मेदेखि १५ महिनासम्मका २२३ जना बालबालिका र १६ महिनादेखि ५९ महिनासम्मका ६१५ जना बालबालिकालाई सरकारले तोकेअनुसारका १३ वटा नियमित खोप लगाइएको पुष्टि भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरिएको हो ।
शुक्रबार आयोजित विशेष कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका अध्यक्ष समीर राईलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष समीर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, गाउँपालिका उपाध्यक्ष गुरुराज राई, प्रमुख प्रशासकीय अधिकृत सौ धन राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाईंलगायतको उपस्थिति थियो ।
खोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी, स्थानीय सरकार, स्वयंसेवक तथा समुदायको समन्वयात्मक प्रयासले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । यो घोषणाले बालबालिकामा रोकथाम गर्न सकिने रोगहरूबाट हुने मृत्यु तथा अपाङ्गता न्यून गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Discussion about this post