असार २३, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र सुशासनयुक्त बनाउन बायोमेट्रिक प्रणाली लागू गर्ने भएको छ । यस उद्देश्यका साथ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ देखि सामाजिक सुरक्षा भत्ता वितरण बायोमेट्रिक प्रणालीमार्फत गर्ने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राई, उपाध्यक्ष राजेश कुमार राजभण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले संयुक्त रूपमा सातै वडाका वडा सचिवहरूलाई बायोमेट्रिक डिभाइस मेसिनहरू हस्तान्तरण गरेका छन् । अब आउने आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अनिवार्य रूपमा आ–आफ्नो वडा कार्यालयमा स्वयम् उपस्थित भई बायोमेट्रिक प्रमाणीकरण (रुजु) गर्नुपर्नेछ ।
यस प्रणाली लागू भएपछि भत्ता वितरण प्रक्रियामा हुने अनियमितता नियन्त्रणमा आउने विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष राईले नयाँ प्रणालीले लाभग्राहीहरूको पहिचान सुनिश्चित गर्ने र वास्तविक लाभग्राहीसम्म सेवा पुग्ने व्यवस्था हुने बनाउनुभयो । यस्ते उपाध्यक्ष राजभण्डारीले पारदर्शिता र उत्तरदायित्व कायम गर्न यो कदम आवश्यक रहेको बताउनुभयो ।
यस नयाँ प्रणालीबाट वृद्धभत्ता, अपांगता भत्ता, विधवा भत्ता लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण सहज, सुरक्षित र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ । स्थानीय सरकारको यो पहलले डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण कदम भएको विज्ञहरूको भनाइ छ ।
Discussion about this post