असार २५, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–११ तिङलास्थित लाममाने सबस्टेशनसम्मको १३२ केभी क्षमताको प्रसारण लाइनमा यही असार २९ गतेबाट परीक्षण रूपमा विद्युत प्रवाह (चार्जिङ) सुरु गरिने भएको छ । ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजना अन्तिम तयारीको चरणमा पुगेको छ । यो आयोजना सोलुदुधकुण्ड नगरपालिका–७ स्थित साल्मे क्षेत्रको सोलुखोलाबाट सुरु भई तिङलास्थित भदौरे साँगुटारको पावर हाउससम्म जोडिने भएको छ ।
आयोजनाले अहिले प्रसारण लाइन परीक्षणको क्रममा लाइन, टावर र उपकरणहरूमा नछुन र अत्यधिक सतर्कता अपनाउन स्थानीयवासीलाई अनुरोध गरेको छ । परीक्षण चार्जिङका बेला उच्च भोल्टेजका कारण ज्यानमा खतरा हुन सक्ने भएकाले सावधानी अत्यावश्यक छ । करीब १७ अर्ब रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय लगानीदाताको सहकार्यमा निर्माण गरिएको यस आयोजनाले वर्षायाममा ८२ मेगावाट र सुक्खायाममा २३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।
आयोजनामा करिब ६ किलोमिटर लामो सुरुङमार्ग र २ थान टरवाइन जडान गरिएको छ । तल्लो सोलु जलविद्युत आयोजना सफलतापूर्वक उत्पादनमा गएपछि सोलुखुम्बु मात्र होइन, समग्र पूर्वी नेपालको ऊर्जा आपूर्ति प्रणालीमा आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । ऊर्जा क्षेत्रमा स्वदेशी तथा वैदेशिक लगानी आकर्षणको उदाहरणका रूपमा यस आयोजनालाई हेरिएको छ ।
Discussion about this post