असार २६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा एसइइ (माध्यमिक शिक्षा परीक्षा) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २५७ जना सहभागीमध्ये २५६ जना उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । उत्तीर्ण विद्यार्थीहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेका ११ जनालाई नगदसहित स म्मान गरिएको छ। ३.६० देखि ३.७० जिपिए ल्याउने ७ जनाले १० हजार रुपैयाँ, ३.७१ देखि ३.८० जिपिए ल्याउने ३ जनाले १५ हजार रुपैयाँ, र ३.८१ देखि माथि ३.९० जिपिए ल्याउने एक जनाले २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा विद्यालयस्तरमा समेत विशिष्ट योगदान दिने शिक्षक, विद्यालय तथा संस्था प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । जुबुस्थित जनकल्याण माविका प्रधानाध्यापक कुमार बस्नेतलाई सर्वोउत्कृष्ट प्रधानाध्यापकको रुपमा नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको छ । कालिका देवी मावि पञ्चनका प्रधानाध्यापक प्रकाश थुलुङ उत्कृष्ट प्रधानाध्यापक घोषित भई १५ हजार रुपैयाँ प्राप्त गरे। यसैगरी, जनसेवा मावि लोखिम उत्कृष्ट विद्यालय घोषित भई २५ हजार नगदसहित सम्मानित भएको छ । कर्तव्यनिष्ठ सेवाका लागि प्रहरी चौकी मुक्लिका इन्चार्ज कमल बहादुर कटुवाललाई ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
शैक्षिक विकासमा सघाउने संस्था — रिड नेपाल, हिमालयन ट्रष्ट, हिमालयन केयर फाउन्डेसन, स्टेएड स्कुल, क्लासरुम इन द क्लाउड्सलाई समेत सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममार्फत गाउँपालिका भित्रका ३८ वटा आधारभूत विद्यालयलाई ल्यापटप वितरण गरिएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले पालिकाको शैक्षिक नीति अनुरूप निरन्तर खटिने शिक्षक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई धन्यवाद दिँदै, शैक्षिक सुधारका लागि अझ बढी समर्पित भएर काम गर्न निर्देशन दिनुभयो । गाउँ प्रवक्ता भोजराज कार्कीका अनुसार पालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक कार्यक्रमहरू पहिचान गरी आगामी दिनमा थप प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजाने जनाइएको छ ।
Discussion about this post