असार ३१, सोलुखुम्बु । राष्ट्रिय सभामा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले हिमाली क्षेत्रका मानिसहरू दिनमा एकपटक नुहाउनु पनि सकारात्मक परिवर्तन भएको बताउनुभएको छ । उहाँले विदेश पलायन नेपालको मात्रै समस्या नभएको पनि बताउनुभयो ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद शेर्पाले मुलुकमा केही भएन भन्ने भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले कसैले पनि सकारात्मक कुरा नगरेको भन्दै सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पहिले हिमाली भेगमा बसोबास गर्ने मानिस वर्षदिनमा एक पटक पनि ननुहाउने गरेको दाबी गर्दै सांसद शेर्पाले अहिले हिमालमै पनि प्रत्येक दिन नुहाउने मानिस रहेको बताउनुभयो । नेपालीहरू मात्रै विदेश गएको भन्ने भाष्य सही नभएको सांसद शेर्पाको भनाइ थियो । अवसर रहेको ठाउँमा बसाइ सर्नु अन्यथा नभएको उहाँको भनाइ थियो ।
Discussion about this post