साउन ३, सोलुखुम्बु । कानेपोखरी एकता समाजले मोरङस्थित रमाइलो बहुमुखी क्याम्पसलाई पुस्तकालय विस्तार तथा शैक्षिक विकासका लागि पुस्तक हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा समाजका संरक्षक देबेन्द्र लुइँटेलको प्रमुख आतिथ्यता र अध्यक्ष मनोज कार्कीको अगुवाइमा क्याम्पसलाई दुई चरणमा गरी २० हजार रुपैयाँ बराबरका पुस्तक प्रदान गरिएको हो ।
उक्त पुस्तकहरू देउसी–भैलो कार्यक्रमबाट संकलित रकमबाट खरिद गरिएको समाजले जनाएको छ । कार्यक्रममा अध्यक्ष कार्कीले क्याम्पससँगको आफ्नो लामो सम्बन्ध स्मरण गर्दै आगामी दिनमा पनि शैक्षिक सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । संरक्षक लुइँटेलले शिक्षा क्षेत्रमै लगानी गर्नु नै दीगो विकासको आधार भएको उल्लेख गर्दै क्याम्पसका सकारात्मक अभियानमा निरन्तर साथ दिने बताएका छन् ।
यसअघि पनि देबेन्द्र लुइँटेलको पहलमा ११ जना दाताहरूको सहयोगमा क्याम्पसमा ११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको थियो । उक्त कोषबाट पुरस्कार तथा विभिन्न शैक्षिक गतिविधिमा सहयोग पुगिरहेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
Discussion about this post