साउन ३, सोलुखुम्बु । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाको आयोजनामा ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्ला अदालतहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उच्च अदालतका न्यायाधीश धीर बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको हो । समीक्षा कार्यक्रममा सम्बन्धित जिल्ला अदालतका श्रेस्तेदारहरूले आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण प्रस्तुत गरेका थिए ।
प्रस्तुत विवरणअनुसार, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले आर्थिक वर्ष २०८१/८२ मा ८४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । त्यस्तै, ओखलढुंगा जिल्ला अदालतले ७०.२५ प्रतिशत, खोटाङ जिल्ला अदालतले ८०.३१ प्रतिशत र सोलुखुम्बु जिल्ला अदालतले ७२.८७ प्रतिशत मुद्दा फछ्र्योट गर्न सफल भएका छन् । समीक्षा कार्यक्रममा मिसिल डिजिटाइजेशन कार्यमा उत्कृष्ट योगदान पु¥याउने पाँच जना कर्मचारी र उत्कृष्ट कार्यसम्पादन गर्ने खोटाङ जिल्ला अदालतलाई विशेष सम्मान गरिएको थियो । माननीय न्यायाधीश चन्दले प्रशंसा पत्रसहित पाँच जना कर्मचारीलाई नगद २ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
सम्मानित हुने कर्मचारीहरूमाःउच्च अदालत ओखलढुंगाका नायब सुब्बा शान्ता भट्टराई र सरिता बानियाँ, जिल्ला अदालत ओखलढुंगाका चित्र प्रसाद दाहाल, खोटाङ जिल्ला अदालतका नायब सुब्बा हरि प्रसाद आचार्य र सोलुखुम्बु जिल्ला अदालतका पासाङ काजी तामाङ रहेका छन् । कार्यक्रमको समापन गर्दै कार्यक्रका माननीय न्यायाधीश चन्दले सबै अदालत र सम्मानित कर्मचारीहरूलाई उत्कृष्ट कार्यका लागि बधाई दिँदै आगामी आर्थिक वर्षमा कमजोरीहरू सुधार गरी अझ प्रभावकारी र जनउत्तरदायी न्याय सम्पादन गर्न निर्देशन दिएका थिए ।
Discussion about this post