साउन ४, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले टाप्टिङ वोङ्छु मेमोरियल नगर अस्पताललाई दिँदै आएको वार्षिक अनुदान रकम यस वर्ष बढाएर ५० लाख रुपैयाँ पुर्याएको छ । अघिल्ला वर्षहरूमा वार्षिक ४५ लाख रुपैयाँ दिँदै आएकोमा यस वर्ष थप ५ लाख रुपैयाँ वृद्धि गरिएको हो । नगरपालिकाको वडा नं ८ केरूङ, वडा नं ९ गोराखानी, वडा नं १० टाप्टिङसहित छिमेकी जिल्ला ओखलढुंगाको सिद्दिचरण नगरपालिका र खिजिदेम्बा गाउँपालिकाका नागरिकहरूलाई सेवा दिँदै आएको यो अस्पताल स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने संस्थाको रूपमा परिचित हुँदै आएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले अस्पतालको सेवा र गुणस्तरमा थप सुधार ल्याउने लक्ष्यका साथ अनुदान रकम वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँले नगरवासीहरूलाई अझ सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाले आगामी दिनमा अस्पतालको पूर्वाधार सुधार, उपकरण विस्तार र दक्ष जनशक्ति अभिवृद्धिमा समेत ध्यान दिने बताइएको छ । अनुदान वृद्धिपछि अस्पतालको सेवा विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
Discussion about this post