साउन ४, सोलुखु्म्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले किसानहरुको कृषि उत्पादनमा सहजीकरण गर्ने उद्देश्यले २५ थान कम्बाइनड मिल वितरण गरेको छ । गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने पाँचवटै वडाका किसानहरुलाई ७५ प्रतिशत अनुदानमा मिल वितरण गरेको हो ।
कृषि शाखा प्रमुख सबिता बास्तोलाका अनुसार आईतबार वडा नं. ३ र ५ का विभिन्न कृषकहरुलाई ९ थान कम्बाइनड मिल वितरण गरिएको छ । यसअघि वडा नं. ४ मा ६ थान र वडा नं. १ र २ मा १० थान गरी कुल २५ थान मिल वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले कृषि यान्त्रीकरण तथा आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषकहरुलाई विभिन्न प्रविधिहरु वितरण गर्दै आएको छ । यसबाट स्थानीय स्तरमा कृषि उत्पादकत्वमा वृद्धि र कृषकहरुको श्रम घटाउने लक्ष्य राखिएको छ । मिल पाएपछि किसानहरुले खुसि व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।
Discussion about this post