साउन ४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका पालिकावासीहरूका लागि सेवा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले उक्त शिविर काठमाडौंको सुकेधारा स्थित नव दुर्गा पार्टी भेन्युमा साउन १०, ११ र १२ गते सञ्चालन हुने भएको हो । शिविरमा जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेदजस्ता पञ्जीकरण सम्बन्धी सेवा, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर संकलन, साथै वडा कार्यपालिकाबाट प्रदान गरिने अन्य प्रशासनिक सेवाहरू उपलब्ध हुने पालिकाले जनाएको छ ।
थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रसन्नदीप राईले एक सूचनामार्फत काठमाडौंमा रहेका पालिकाबासीहरुलाई आवश्यक कागजातसहित शिविरमा उपस्थित भई सेवा लिन आग्रह गर्नुभएको छ । नगरपालिकाको यस पहलले टाढा रहेको स्थानीय निकायसँग सेवा लिँदा भोग्नुपरेको कठिनाइ कम हुने र सेवा अझ सहज, पहुँचयोग्य तथा प्रभावकारी हुने विश्वास गरिएको छ ।
Discussion about this post