साउन १२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका तीन स्थानीय तहमा यस वर्षको धान रोपाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार साउन ११ गतेसम्म जिल्लाभर कुल १ हजार ९० दशमलव ३० हेक्टर क्षेत्रफलमध्ये ८९ प्रतिशत धान रोपाई सम्पन्न भइसकेको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र महाकुलुङ गाउँपालिकामा १०० प्रतिशत रोपाई सकिएको केन्द्रले जनाएको छ ।
अन्य स्थानीय तहहरूमा भने वर्षा ढिलो सुरु भएकाले रोपाई केही पछाडि धकेलिएको हो । गत वर्षको तुलनामा यस बर्ष रोपाईको प्रगति केही सुस्त देखिएको छ । गत वर्ष यही अवधिमा ९२ प्रतिशत रोपाई सम्पन्न भएको थियो भने यस वर्ष ८९ प्रतिशतमा सीमित भएको तथ्यांकले देखाएको छ । अन्य स्थानीय तहहरूमध्ये नेचासल्यान गाउँपालिकामा ७९.५३ प्रतिशत, सोताङ गाउँपालिकामा ७६.९७ प्रतिशत, माप्यदुधकोशी गाउँपालिकामा ८६.६७ प्रतिशत, र लिखुपिके गाउँपालिकामा ८७.४१ प्रतिशत रोपाई सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्रका सुचना अधिकारी उपेन्द्र ठाकुरका अनुसार अबको केही दिनभित्र बाँकी रहेका क्षेत्रमा पनि रोपाई कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ । समयमै वर्षा नभएकाले किसानहरूमा चिन्ता बढेको भए पनि अहिले वर्षा सुरु भएसँगै रोपाईको गति तीव्र भएको जनाइएको छ ।
Discussion about this post