साउन १२, सोलुखुम्बु । स्थानीय कच्चा पदार्थको प्रयोग गर्न पाउनुपर्ने मागसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले शुरू गर्नुभएको सत्याग्रह आज दोस्रो दिन पनि चलिरहेको छ ।
हिजोदेखि काठमाण्डौको माइतीघर मण्डलामा सत्याग्रह शुरू गर्नुभएका मेयर भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीमा न्यूनीकरण गर्न माग गर्नुभएको छ । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन बाधक भएकाले पटक–पटक गरेको लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको उहाँले बताउनुभयो ।
स्थानीय स्रोत र सामग्री प्रयोग गर्नका लागि पालिका सरकार र प्रदेश सरकारले कानून बनाउन नपाउने व्यवस्था रहेकाले कानून बनाउन पाउनुपर्ने माग राखेको भट्टराईको भनाइ छ । गाउँ घरमा खेर गइरहेका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई घटाउनसँगै यसले स्थानीय बासिन्दालाई रोजगारी दिन सकिने र वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरू बनाउन सकिने उहाँले बताउनुभयो ।
Discussion about this post