साउन १२, सोलुखुम्बु । सोलुदुधकुण्ड, थुुलुङ दुधकोशी पछि खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि काठमाण्डौमा एकिकृत सेव शिविर आयोजना गर्ने भएको छ । गाउँपालिकाको वडा नम्बर १ खरिखोलाको अनुरोधमा गाउँपालिकाले आगामी साउन १८ गते देखी काठमाण्डौमा एकिकृत सेवा शिविर आयोजना गर्ने भएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका स्थायी बसोवास भई काठमाण्डौमा अस्थायी रुपमा रहँदै आएका नागरिकहरुका लागी गाउँपालिकाले काठमाण्डौमै गएर सेवा शिविर दिन लागेको वडा नम्बर १ का अध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो ।
१८ गतेबाट सुरु हुने शिविर २१ गते सम्म ४ दिन सञ्चालन गरिने उहाँको भनाई छ । शिविरमा गाउँपालिकाका ५ वटै वडाका नागरिकले आधारभुत प्रशासनीक सेवा सहित विभन्न सेवा प्राप्त गर्न सक्ने छन् । सामान्य कामका लागी काठमाण्डौबाट खुम्बु आउनुपर्ने झण्झटिलो र खर्चिलो बाध्यतालाई चिर्दै काठमाण्डौमै गएर सेवा दिन लागीएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमको भनाई छ ।
शेवाशिविरबाट गाउँपालिकाले राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन, सामाजिक सुरक्षा भत्ता नविकरण तथा बायोमेट्रिक प्रमाणीकरण, मालपोत तथा भुमिकर संकलन, पञ्जीकरण स्म्बन्धी सेवाहरु, वडा कार्यालयबाट प्रदान गरिने सबैखाले सिफारिस सेवा प्रदान गरिने जनाइएको छ । शिविर काचठमाण्डौ स्थित केएल टावर नजिकै सञ्चालन गरिने छ ।
Discussion about this post