साउन १३, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले काठमाण्डौमा सञ्चालन गरेको एकिकृत सेवा शिविरबाट १ हजार ५ सय बढी पालिकाबासीले सेवा लिएका छन् । गाउँपालिकाले गत आइतबारबाट काठमण्डौको नवदुर्गा पार्टीप्यालेसमा आयोजना गरेको शिविरबाट १ हजार ५ सय २४ जना पालिकाबासी नागरिकले सेवा दिएका हुन । गाउँपालिका अध्यक्ष अशिम राईले आइतबार उद्घाटन गरेपछि औपचारिक रूपमा सुरु भएको सो शिबिर मंगलबार सम्पन्न भएको हो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीका अनुसार शिबिरको पहिलो दिन पहिलो दिन ३७८, दोश्रो दिन ५३९ र तेस्रो तथा अन्तिम दिन सबैभन्दा बढी ५९७ जनाले सेवा लिएका थिए । शिविर सकिएपनि गाउँपालिकाले आउने सेवाग्राहीलाई अनुकुलता मिलाएर सेवा दिन सक्ने उहाँको भनाई छ । पालिकाका विभिन्न वडा स्थायी बसोबास भई काठमाण्डौमा अस्थायी रुपमा बसोबास गर्दै आएका अशक्त,अपांग,बिरामी र विभिन्न पेशा ब्यबसायमा संलग्न हरुलाई बर्षाको समयमा जिल्लासम्म पुग्न समस्या हुने अवस्थालाई हेर्दै काठमाडौंमा सेवा शिबिर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
प्रतिकूल समयमा काठमाडौंमै सेवा शिबिर सञ्चालन गरेर एउटै थलोबाट सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भुमि कर संकलन, जन्म मृत्यु दर्ता, बसाई सराई, राष्ट्रिय परिचय पत्र वितरण लगायतका सेवा प्रवाह गर्नु प्रशंसनीय रहेको भन्दै सर्बसाधारणहरुले पालिका नेतृत्वप्रति खुसी व्यक्त गरेका छन् ।
Discussion about this post