साउन १३, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले राजधानी काठमाडौँ उपत्यकामा बसोबास गर्ने पालिकाबासीहरुका लागि एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गर्न भएको छ । गाउँपालिकाले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाहरू सहज र प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउने उदेश्यका साथ यो शिविर आयोजना गर्ने भएको हो ।
गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतका अनुसार शिविर साउन २३ र २४ गते काठमाडौंको सुकेधारास्थित नव दुर्गा पार्टी प्यालेसमा सञ्चालन हुनेछ । शिविर विहान ८ बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालन हुनेछ । शिविरमार्फत सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भूमिकर संकलन, जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेदलगायत पञ्जिकरण सेवाहरू प्रदान गरिनेछ ।
साथै नयाँ राष्ट्रिय परिचयपत्र बनाइ वितरण गरिनेछ भने वडा कार्यालयमार्फत दिइने सिफारिस लगायत सम्पूर्ण प्रशासनिक सेवाहरू पनि प्रदान गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष बस्नेतका अनुसार वर्षाको समयमा गाउँ फर्किनुपर्ने झन्झट र आर्थिक भार कम गर्ने उदेश्यले शिविर सञ्चालन गरिएको हो ।
उहाँले सम्भव भएसम्म धेरै नागरिकले शिविरमा उपस्थित भइ आवश्यक सेवा लिन आग्रह समेत गर्नुभयो । शिविरबाट सहरमा बस्दै आएका सोताङबासी नागरिकहरूले सजिलै आफ्नो पालिकासँग सम्बन्धित कार्य सम्पादन गर्न सक्ने भएका छन् ।
Discussion about this post