साउन २२, सोलुखुम्बु । सिन्धुलीका खिलबहादुर भुजेललाई भारत पुर्याएर मिर्गौला तस्करी गर्ने गिरोहका एक व्यक्ति पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोटका समीर परियारलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । प्रहरी स्रोतका अनुसार भुजेलले पोखराबाट अपहरण भएको दाबी गरे पनि अनुसन्धानले पोखरा नभई काठमाडौँबाटै भारत लगिएको खुलेको छ ।
गिरोहले जडीबुटीबाट खिलबहादुरलाई कीर्तिपुर पुर्याएर स्वास्थ्य परीक्षण गरेपछि कंलकीमा खाजा र मदिरा सेवन गराएका रहेछन्, नौबिसेमा खाना खुवाएर सुनौली नाका हुँदै भारत पुराएको भुजेलका दाजु मानबहादुर भुजेलले बताउनुभएको छ । साथै खिलबहादुरको मिर्गौला साउन ९ गते झिकिएको समेत पाइएको छ ।
होसमा आउँदा उनी काठमाडौँको कलंकीमा रहेको बताइएको छ । प्रहरी अनुसन्धानमा खुलिएको तथ्यअनुसार, समीर परियार प्रत्येक व्यक्तिको मिर्गौला तस्करीमा ५० हजार रुपैयाँ कमिसन लिने गरेको खुल्न आएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले परियारलाई नियन्त्रणमा लिएर मिर्गौला तस्करीमा संलग्नता बारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
प्रहरी स्रोतलेका अनुसार खिलबहादुर मात्र होइन, अन्य ५ जना नेपाली नागरिकलाई पनि गिरोहले भारत लगेको आशंका गरिएको छ । हाल ती सबै विषयमा विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ ।
Discussion about this post