साउन २३, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले नेवार समुदायको विशेष पर्व गाइजात्राको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिका उपाध्यक्ष राजेश कुमार राजभण्डारीका अनुसार गाउँपालिकामा नेवार समुदायको उल्लेख्य बसोबास रहेको र गाइजात्रा उनीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
यस वर्ष साउन २५ गते गाइजात्रा परेकोले नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघ–संस्थाहरूमा बिदा लागू हुने उहाँको भनाई रहेको छ । गाइजात्रा पर्वमा नेवार समुदायले एक वर्षभित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा जात्रा निकाल्ने परम्परा रहेको छ । ऐसेलुखर्क बजारमा गाइजात्रा प्रत्येक वर्ष धुमधामका साथ मनाउदै आइएको छ । यस वर्ष पनि विविध कार्यक्रमसहित पर्व मनाइने तयारी भइरहेको जनाइएको छ ।
Discussion about this post