साउन २४, सोलुखुम्बु । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले आफ्ना सेवाग्राहीलाई लक्षित गर्दै राजधानी काठमाडौंमै प्रशासनिक तथा नागरिक सेवा प्रदान गर्न सुरु गरेको छ । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका सेवाग्राहीलाई लक्षित गर्दै खिजीदेम्बा गाउँपालिकाले आजबाट जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा तीन दिनसम्म सञ्चालन हुने विशेष एकीकृत शिविर सञ्चालनमा ल्याएको हो । शिविर साउन २४, २५ र २६ गतेसम्म सञ्चालन हुनेछ ।
शिविरमा जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा नापीसम्बन्धी सेवा, साथै वडा कार्यालयमार्फत प्रदान गरिने अन्य सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले जानकारी दिनुभयो । राजधानीमा रहेका सेवाग्राहीले सहज रूपमा सेवा उपभोग गर्न सकून् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाका अनुसार धेरै सेवाग्राही काठमाडौंमै रहेका कारण सामान्य सेवाका लागि समेत गाउँसम्म आवतजावत गर्दा समय, खर्च र हैरानी बढ्ने समस्यालाई मध्यनजर गर्दै सेवा पहुँचलाई सहज बनाउने उद्देश्यले शिविर आयोजना गरिएको हो । अध्यक्ष शेर्पाले काठमाडौंमा रहेका सेवाग्राहीलाई आफ्नै गाउँपालिका पुग्नुपर्ने झन्झट हटाई सेवा नजिक पुर्याउने प्रयासस्वरूप यो पहल गरिएको स्पष्ट पार्नुभयो ।
Discussion about this post