साउन २५, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–१ स्थित खरिखोला माध्यमिक विद्यालयमा ‘शैक्षिक उन्नयन कोष’ अभियानको औपचारिक सुरुवात गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित एक कार्यक्रममा कोष उद्घाटन गरिएको हो । कार्यक्रम वडा नं १ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुनुरु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा सोलु कांग्रेसका सभापति नाम्गेल जाङ्बु शेर्पाले १ लाख ५० हजार, नेता प्रकाशसिं कार्कीले १ लाख ११ हजार १ सय ११, प्रदेश ‘ख’ का सभापति कर्मा शेर्पाले ५० हजार ५ सय र प्रदेशसभा सदस्य डोल्मा तामाङले ५० हजार रुपैयाँ कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
अन्य नेताहरूले समेत आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा खरिखोला माविमा विभिन्न माध्यमबाट सहयोग पुर्याउने संस्थाहरू हिमालयन ट्रष्ट, क्लासरुम अफ द क्लाउडस, एक्सन फर खरिखोला स्वीट्जरल्यान्ड, माउन्ट स्प्रीट फाउण्डेशन, खरिखोला ट्रष्ट, लायन्स क्लीन ड्रिङ्किङ वाटर प्रोजेक्ट, ह्युमन एथिक्स प्रोजेक्ट, इन्टल प्रो जर्मन, माउन्टेन भिवा लगायतका प्रतिनिधिहरू तथा व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गर्दै मन्त्री पौडेलले विद्यालयको तर्फबाट सम्मान गरिएको छ । वडाध्यक्ष शेर्पाले मन्त्री पौडेलसँग पाङ्गोम स्वास्थ्य चौकी भवन निर्माणमा पुर्याएको सहयोगप्रति आभार प्रकट गर्दै खुम्बु पासाङल्हामू गाउँपालिकाको केन्द्रमा पोस्टमार्टम गृह, एम्बुलेन्स, र खरिखोलामा ५ शय्याको अस्पताल निर्माणका लागि संघीय सरकारको सहयोग आवश्यक भएको स्मरण गराउनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी, कांग्रेस केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा, कोशी प्रदेशसभा सदस्य डोल्मा तामाङ, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा, गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हामू शेर्पा, विभिन्न राजनीतिक, प्रशासनिक तथा व्यवसायिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post