साउन २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, जुनबेशीस्थित बेनी स्वास्थ्य चौकीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको आयोजना, वडा नं. २ को सह–आयोजनामा तथा कुशुदेबु जनस्वास्थ्य अभियान नेपालको प्रायोजनमा आगामी असोज १२ देखि १४ गतेसम्म शिविर सञ्चालन हुने भएको हो ।
सो शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ । शिविर संयोजक तथा कुशुदेबु जनस्वास्थ्य अभियान नेपालका प्रतिनिधि छिरिङ शेर्पाका अनुसार, काठमाडौँ तथा अस्ट्रेलियाबाट आएका अनुभवी चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी र स्वयंसेवकसहित करिब ५० जनाको टोलीले सेवा उपलब्ध गराउनेछ ।
शिविरमा स्त्रीरोग तथा गर्भवती महिलाको स्वास्थ्य परीक्षण, तौल, उचाइ, रक्तचाप जाँच, चिनी (शुगर) परीक्षण, पेट र पाचनसम्बन्धी समस्या, पाठेघर जाँच तथा रिङ पेसरी राख्ने सेवा, पोषणसम्बन्धी परामर्श, नसारोग तथा मांसपेशी परीक्षण, फिजियोथेरापी, थाइराइड परीक्षण, ग्यास्ट्रिक सेवा, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, शरीरमा देखिने गाठागुठीको परीक्षण लगायतका सेवा प्रदान गरिनेछ। साथै निःशुल्क औषधि वितरण र उपचार सेवा पनि उपलब्ध हुने भएको छ ।
उक्त शिविरबाट सबै उमेर समूहका व्यक्तिहरूले लाभ लिन सक्नेछन् । विशेषगरी दुर्गम क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
Discussion about this post